डडेल्धुराका विकट बस्तीमा पुग्यो खानेपानी

डडेल्धुरा । परशुराम नगरपालिका–३ का कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँमा खानेपानी उपलब्ध भएको छ ।

विकट बस्तीका रुपमा रहेका ती गाउँका ११६ उपभोक्ताले अहिले खानेपानी सहज रुपमा उपभोग गर्न पाएका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत आर्थिक वर्षदेखि कालापातल, कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टामा खानेपानी आयोजना कार्यान्वयन गरेको थियो । आयोजनामार्फत छ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पुर्‍याइएको हो ।

यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत तीन करोड ४८ लाख बजेट खर्च भएको थियो । लकडाउन अवधिमा पाइप लाइन निर्माण सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिए ।

मुहानदेखि बस्तीसम्म खानेपानी पु¥याउन निकै चुनौतीपूर्ण भए पनि शीर्षखोलामा रोपवे क्रसिङ गरेर खानेपानी बस्तीसम्म पुर्‍याउन सम्भव भएको कार्यालयका इञ्जिनीयर गोविन्द देवकोटाले बताए। अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केही समयअघि नै योजना सम्पन्न हुने चरणमा पुगिसकेको उनले बताए ।

स्थानीय बासिन्दाले अहोरात्र श्रमदानसमेत गरेका थिए । खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राईगाउँमा समेत चालू आर्थिक वर्षमा खानेपानी पुगिसक्ने कार्यालयले जनाएको छ । नवदुर्गा गाउँपालिका–४ को दलित बस्तीमा समेत चालु आवमै खानेपानी योजना निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?