हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही स्थान बस्ने २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई प्रहरीले शनिवार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत शुक्रवार दिउँसो बकैया ४ स्थित सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटवल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद भएपछि भोलनले साथमा रहेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेको जिप्रकाका एसपी सुशील सिं राठौरले जानकारी दिए । वाइवाको हत्यापश्चात् भोलन फरार रहेका थिए ।

प्रहरीले भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरेको थियो । फरार उनीलाई शनिवार बिहान ललितपुर वाग्मती गाउँपालिका–२ माल्टाका स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय ठिङ्गन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?