आलुको बीउ बाँड्दै गाउँपालिका

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा एकसाथ १८ हजार किलोग्राम आलुको बीउ वितरण शुरु गरेको छ । सर्वसाधारणलाई उत्पादनतर्फ जोड्दै उनीहरूलाई आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवम् ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

बीउ वितरणका लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण शुरु गरेको र सबै वडामा वितरण कार्य भइरहेको उनले बताए ।

गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकामा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् । “यस वर्ष गाउँपालिकामा ३० हजार किलोग्राम आलुको बीउ माग भएको तर त्यसअनुरुप पुर्‍याउन सकेनौँ”, अध्यक्ष कुँवरले भने, “गाउँपालिकामा कृषिप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।”

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?