समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

झिमरुक । जिल्ला प्रहरी कार्यालय प्युठानले विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घ÷संस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्दै आएको हो । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रीत सचेतनामुलक कार्यक्रम गरिएको छ ।

जिल्लालाई अपराध मुक्त बनाउन, सभ्य समाज निर्माणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। कार्यक्रममार्फत अघिल्लो आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा घरदैलो अभियान गरिएको थियो ।

उहाँले हालसम्म जिल्लाका ४५ हजार १० घरधुरीमा प्रहरी पुगिसकेको बताउनुभयो । प्रहरी समुदायमा पुगेपछि जनतासँग प्रत्यक्ष भेटघाटसँगै उनीहरुको तथ्याङ्क राख्नुका साथै कानूनले बञ्चित गरेका कुरा गर्नुहुदैँन भनेर सम्झाउने गरिएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमणका कारण घरदैलो कार्यक्रम रोकिए पनि समुदाय केन्द्रित कार्यक्रम गरिएको छ । सोअन्तर्गत सड्क दुर्घटना न्यूनिकरण, बालविवाह न्यूनिकरण, कोरोना नियन्त्रणलगायत जनचेतनामुलक कार्यक्रम गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?