काठमाडौं । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको अस्पताल अहिले आफैँ बिरामी अवस्थामा थला परेको छ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित नेपाल–भारतमैत्री अस्पतालमा अहिले स्वास्थ्योपचार सेवा उपलब्ध छैन ।
अस्पतालको भवन निर्माण भएको ११ वर्ष बिते पनि अस्पताल भने चल्न सकेको छैन । अस्पताल सञ्चालन हुन नसक्दा भवन कहिले प्रहरीको आवासस्थल, कहिले असहाय बालबालिका राख्ने केन्द्र त कहिले छाडाचौपायाको आश्रयस्थल बन्न पुगेको छ ।
अर्थाभावका कारण भवन निर्माणपछि दुई पटक अस्पताल सञ्चालनको प्रयास भए पनि चल्न सकेन । अस्पताल चलाउनका लागि सञ्चालक समितिले समन्वय गर्न नसक्दा भवन निर्माण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयवासीको आरोप छ । स्थानीय दाताले जग्गा दान गरेर भारतीय दूतावासले भवन निर्माण गरिदिए पनि अस्पताल सञ्चालक समितिको बेवास्ताका कारण सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका –१६ का वडा सदस्य जगत् श्रेष्ठले बताए । सञ्चालक समितिले आफूले पनि चलाउन नसकेको र र राज्यलाई सञ्चालन गर्न दिन पनि डराएका कारण अस्पताल चल्न नसकेको उनको भनाइ छ ।
अस्पताल नचल्दा लाखौँ रुपैयाका बहुमूल्य औजार प्रयोगविहीन बन्न पुगेका छन् । महत्वपूर्ण उपकरण र शय्या काम नलाग्ने हुन थालेका छन् । त्यसमा सञ्चालक समितिले ध्यान नदिएको श्रेष्ठले बताए । अस्पताल २०६६ सालमा दूतावासको ६६ लाख सहयोगमा निर्माण भएको थियो । अस्पताल भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत ७७ लाख उपलब्ध भएको थियो । बोलपत्र आह्वान गर्दा ६६ लाखमा नै अस्पताल भवन निर्माण भएको थियो ।
अस्पताल निर्माणपछि २०६६ साल असारदेखि घोराहीमा सञ्चालित बाल अस्पताललाई उक्त भवनमा सारिएको थियो । साउन महिनादेखि उक्त भवनमा प्रहरीसमेत बस्न थाल्यो । अस्थायी प्रहरी चौकी सर्रा २०६६ साल साउनमा एक महिनाका लागि भनेर अस्पतालमा बसेकामा २०७३ सालसम्म रह्यो । त्यही कारण बाल अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदीप योगी बताउछन्। अस्पताल सञ्चालनका लागि आर्थिक स्रोत नभएकाले बन्द भएको उनले बताए । कम्तीमा दुई वर्ष वार्षिक ३० लाख कतैबाट सहयोग भए अस्पताल सञ्चालन गर्न सकिने उनको भनाइ छ । “अहिले अस्पतालसँग एक रुपियाँ छैन, कसरी डाक्टर र कर्मचारी राख्ने, समस्या छ”, योगीले भने ।
आफूले अस्पताल सञ्चालनका लागि घोराही उपमहानगरपालिका, जिल्लाका राजनीतिक दल, दाङबाट निर्वाचित सांसदसँग बजेट माग गरे पनि कतैबाट सहयोग नभएको उनले गुनासो गरे । “अस्पताल सञ्चालनका लागि राज्यका कुनै तहबाट हामीलाई सहयोग भएन, कतैबाट सहयोग नहुँदा अस्पताल सञ्चालन गर्न सकिएन, जसका कारण अस्पताल सञ्चालन नहुँदै बन्द हुन पुग्यो”, योगीले भने । अस्पतालमा एक्सरे मेसिन, ल्याब मेसिन, १० शय्या, अन्य परीक्षण गर्ने उपकरण भए पनि प्रयोग नहुँदा बिग्रन थालेकोे उनको भनाइ छ । “अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै उपकरणहरु छन्, राज्यले केही महिनाका लागि अस्पतालमा डाक्टर र औषधिको व्यवस्था गरिदिन सके मात्र पनि अस्पताल सञ्चालन गर्न सकिन्छ”, उनले भने ।
गत वर्ष घोराही उपमहानगरपालिकाले उक्त भवनलाई अनाथालयका रुपमा सञ्चालन गर्न खोजे पनि सफल हुन नसकेको योगीले बताए । “अनाथालय सञ्चालनका लागि आवास, कपडा, खाना पकाउने भाडासँगै अस्पतालको जग्गालाई तरबार गर्ने कामसमेत गरिएको थियो तर स्थानीय सरकारले सञ्चालन गर्न सकेन”, उनले भने । बजेट अभावका र व्यवस्थापनको चुनौतीका कारण सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउछन् । अस्पताल चलाउनुभन्दा पनि त्यसलाई अनाथ बालबालिका राख्ने बनाउन खोजेका छौँ, प्रदेश सरकारसँंग समन्वय गरिरहेका छौँ, छिट्टै सञ्चालनमा ल्याउछौँ”, चौधरीले भने ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया