काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा उठेको राजश्व सरकारी खातामा जम्मा नगरी दुरुपयोग गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका –४ सुर्खेतमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
करार सेवाअन्तर्गत प्रशासन सहायक रत्नबहादुर विकले राजश्व रकम सरकारी खातामा जम्मा नगरेको भन्ने सूचनाका आधारमा गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
वडा नं ४ मा २० लाख २० हजार ६७ रुपैयाँ राजश्व संकलन भएकामा चार लाख १६ हजार ६०० रुपैयाँ मात्रै बैंकमा दाखिला गरी १६ लाख तीन हजार ४६७ रुपैयाँ हिनामिना गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।संकलित राजश्व कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्रप्रसाद अधिकारीको समेत संलग्नता रहेको पाइएको छ । आयोगले राजश्व दुरुपयोग गर्ने विकविरुद्ध १६ लाख तीन हजार ४६७ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तै सात लाख १६ हजार ७१७ रुपैयाँ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा वडा सचिव अधिकारीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अभियुक्त दुवैलाई कसुरअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया