कोभिड-१९ उपचार केन्द्रमा प्लाज्माथेरापी सेवा शुरु

मोरङ । प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको छ । कोभिड १९ का कडा बिरामीका लागि आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको हो ।

कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गरेका हुन् । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शैय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए ।

केन्द्रमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ भने आजसम्म केन्द्रबाट ४६१ जना संक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जना कोरोना थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २३६ जनाको पिसीआर परीक्षणमा १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा सुनसरीमा ३४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, सङ्खुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश बाहिरका एक÷एक जना रहेका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या ११ हजार १७० पुगेको छ । प्रदेशमा आज १९ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म चार हजार ८७३ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म एक लाख ३९ हजार ९२८ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद्बीच सम्झौता
मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गा मोरङ र राष्ट्रिय अनुसन्धान परिषद्वीच विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सम्झौता भएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको सक्रियतामा आज अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डा महावीर पुनबीच सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न दुबै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्ने विश्वविद्यालयका प्रमुख डा पोखरेलले जानकारी दिए । विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने भएको छ । सो सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउँदै अनुसन्धानको जग बसाउने काम शुरु भएकाले विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए ।

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गर्ने चर्चा गर्दै सिर्जनशील र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्न सक्ने बताए । नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सम्झौताले मुलुकको आर्थिक समृद्धि कायम गर्न बल पुग्ने धारणा राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?