चीनका राष्ट्रपतिको भ्रमण : सचित्र पुस्तकमा

काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा नेपाल–चीन मिडिया फोरमले प्रकाशन गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चीन फिङस नेपाल भिजिटः अ पिक्चोरियल गाइड’ आज सार्वजनिक गरिएको छ ।

सो फोरमले आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो पुस्तक सार्वजनिक गरेका हुन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

नेकपा विदेश विभाग प्रमुख नेपालले चीनसँग भएका सम्झौतालाई नेपालले कागजीरुपमा मात्र नभई व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्नेमा जोड दिँदै चीनलाई अझ विश्वासिलो र साझेदार मुलुकमा रुपमा लिनुपर्ने बताए। बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) चीनको मात्र स्वार्थ नभई सिङ्गो मानव जातिको हितसँग जोडिएको पहल भएकाले नेपालले यसबाट लाभ लिन सक्नुपर्नेमा उनले जोड दिए। उनले भने, “पछिल्लो समय राष्ट्रपति सीले चीनको नेतृत्व सम्हालेपछि उनले बेल्ट एण्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सारेका छन् । पुरानो सिल्क रोडले जसरी एशिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यसमा नेपालको सहभागिताबाट अरु कुनै देश आत्तिनु पर्ने स्थिति छैन ।”

चीनका राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते २० बुँदे सम्झौता भएको थियो ।

कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९५५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयाममध्ये गत वर्षको राष्ट्रपति सीको भ्रमण थप बहुआयामिक भएको र यसले नेपालको अन्तरराष्ट्रिय हैसियत बढाएको जनाए । नेपालले पर्यटन, कृषि र प्रविधि तथा पूर्वाधार विकासका क्षेत्रमा लाभ लिन सक्नुपर्ने जनाउँदै उहाँले अन्य बहुराष्ट्रिय दातृ निकायको स्वार्थको तुलनामा चीनका साझेदारी परियोजनामा परामर्शदाता उतैबाट ल्याउने र उतै केही रकम फिर्ता लाने ढाँचा नहुने भएकाले पनि चीनसँगको साझेदारी नेपाललाई उपयोगी हुन सक्ने औँल्याए ।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेकाले त्यसलाई अभिलेखीकरण गरिएको जनाए। पुस्तकमा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल र सन योङ÷ बिएम रेग्मीका लेख समावेश छन् । पुस्तकमा दुई देशका संयुक्त वक्तव्य र उच्चस्तरीय भ्रमणमा भएका सम्झौता, राष्ट्रपति सी भ्रमणका तस्बीर र मुख्य समाचार सामग्री समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?