मनाङ मात्र कोरोना संक्रमण मुक्त जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका एक जिल्ला रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका मनाङ जिल्लामा मात्र कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त भएको जिल्ला

  • मनाङ

बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यो कुल संक्रमितको ६९.१२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३३ हजार ८८० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ९२३ जना छन् । तिमध्ये २७९ जना संक्रमितको आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर र बाँके गरि १० वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (आईतवार) नेपालमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५५२ जना संक्रमणमुक्त भएका थिए भने २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?