काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतवार राति ११ः०० बजे मृत्यु भएको हो ।
उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतवार बिहान दुई जनाको मृत्यु भएको थियो ।
कर्मचारी सङ्क्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द :
बराहक्षेत्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ । तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।
शुक्रबार छ जनाको स्वाब सङ्कलन गरेर पिसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल गिरीले जानकारी दिए । अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा गिरीले जानकारी दिए । सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया