दमौली । पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा १५ दिनको तालिम आयोजना गरेर जनशक्ति तयार गरिइएको हो । विनाशकारी भूकम्पमा परेर क्षति भएका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणका लागि जनशक्ति तयार गर्ने उद्देश्यले विभागले बन्दीपुरमा तालिमको आयोजना गरेको थियो । विभागका छविकार एवं तालिमका सहसंयोजक ओमकुमार श्रेष्ठका अनुसार तालिमबाट ४५ जना कालीगढ सम्पदा पुनर्निर्माणका लागि दक्ष भएका छन् ।
तालिममा देशका विभिन्न जिल्लाबाट कालीगढ सहभागी थिए । तालिमका सहभागीहरुलाई तीन समूहमा विभाजन गरि गाह्रो लगाउने, काष्ठकला सम्बन्धी र ढुङ्गा कुँद्ने सम्बन्धी सीप प्रदान गरिएको तालिमका प्रशिक्षक कृष्णगोविन्द प्रजापतिले जानकारी दिए । विसं२०७२ को भूकम्पबाट धेरै जिल्लामा मन्दिर, पाटीपौवा र धर्मशालाहरु क्षति भएका र ती मध्ये अझै धेरैको पुनर्निर्माण गर्न बाँकी रहेको पुरातत्व विभागका छविकार श्रेष्ठले बताए । “दक्ष कालीगढहरु नहुँदा पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य पूरा भएको छैन,” उनले भने, “तालिम पश्चात् दक्ष जनशक्ति उत्पादन भएकाले पुनर्निर्माणमा सहयोग पुग्नेछ ।”
गत चैत पहिलो साता नै तालिम शुरु गरिएको भएपनि चैत ११ गतेबाट देशैभर लकडाउन भएका कारण तालिम स्थगित भएको थियो । बाँकी तालिम गत मङ्गलवारबाट शुरु गरिएको थियो । तालिमका सहभागी बन्दीपुर निवासी सुरज जोशीले तालिमले निकै फाइदा गरेकाले अब काष्ठकलामा निपुण हुने र पुरातात्विक सम्पदा पुनर्निर्माणसँगै काष्ठकलाको व्यवसाय शुरु गर्ने सोच राखेको बताए । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सकेमात्रै तालिमको प्रभावकारिता रहने बताए ।
माछा मार्नेलाई जरीवाना
बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरीवाना गराइएको छ । अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जनही रु पाँच हजारका दरले जरीवाना गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका–१ कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरुलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरीवाना गराइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया