कोरोना संक्रमितको संख्या शुन्य रहेका यी ३ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ३ जिल्लाहरु

  • सोलुखुम्बु
  • मनाङ
  • मुस्ताङ

बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यो कुल संक्रमितको ७२.८ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । तिमध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार १६४ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो ।

हिजो (मंगलवार) नेपालमा १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३४० जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?