सिलाइ-कटाइप्रति आकर्षण बढ्दो

काठमाडौं । पछिल्लो समय कालीकोटका महिलाहरु सिलाइ-कटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइ-कटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइ-कटाइ व्यवसायप्रति आकर्षित भएका हुन् । सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताइन् । सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आएकी छिन्। उनले भनिन् “सिलाइ-कटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”

सिलाइ-कटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो भएका ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आएकी छिन् । उनी भन्छिन्, “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।”

निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइ-कटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर प्रायःजसो कमै छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टीका सिलाइ-कटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइ-कटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?