काठमाडौं, भक्तपुर र ललितपुरसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १२३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • चितवन
  • मोरङ
  • सिरहा
  • रुपन्देही

यस्तै बितेको २४ घण्टामा थप ८७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ६९८ जना र संस्थागत आईसोलेसनमा ८ हजार ३२१ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार २८१ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४७७  जनाको मृत्यु भएको छ ।

हिजो (शनिवार) नेपालमा १ हजार १४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १४७ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?