संविधान संशोधनबारे बोले प्रधानमन्त्री ओली, “आवश्यक देखिए सबै तयार हुनुपर्छ”

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘औचित्य र आवश्यकताका आधारमा’ संविधान संशोधन गर्न सकिने बताएका छन् ।

पाँचौं संविधान दिवसको पूर्वसन्ध्यामा ‘अ ट्रिटिज अन दी कन्स्टिच्युसन अफ नेपाल, २०१५’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउँदै व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिए संविधानको संशोधन गर्न सकिने बताएका हुन् ।

जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने पनि बताए। उनले भने , “जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन, आवश्यक देखिए संविधान संशोधनका लागि सबै तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?