केन्द्रीय रक्तसञ्चार सेवालगायत सात स्थानमा प्लाज्मा थेरापीको लागि रक्त संकलन सुरू

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गरे ।

कोरोना संक्रमण निको हुनुभएका तनहुँ घर भई हाल काठमाडौं बस्दै आएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भने, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।”

नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् को अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले बताए ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता हिजै सम्पन्न भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । दाता रानाभाटलाई महामन्त्री पीताम्बर अर्यालले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा नेरेसो अध्यक्ष डा नेत्र तिम्सिनाले भने, “समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो एक्टर होइन र कन्सोटियमको अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई म अनुरोध गर्दछु ।”

कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्ने संक्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य काठमाडौं महानगरपालिका वडा नं २५ र २७ ले गरिरहेको जानकारी दिनुभयो । लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष शाक्यले बताए।

सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोइरालासहित पदाधिकारी तथा सदस्य, कामु कार्यकारी निर्देशक सुर्दशन अधिकारी, नेपाल मेडिकल एशोसियसनका पदाधिकारी, रक्तसञ्चार विशेषज्ञ डाक्टर बिपिन नेपाल र लायन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?