काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए ।
उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया