झापामा खोलाले बगाएर र करेन्ट लागेर दुईको मृत्युु

झापा । पौडीले खेल्ने र करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका–२ का १५ वर्षीय राजु भण्डारी र कमल गाउँपालिका–२ का २२ वर्षीय विशाल रिजाल रहेको प्रहरीले जनाएको छ ।

भण्डारी बुधबार साँझ ७ बजे सानो माइ खोलामा पौडी खेल्ने क्रममा खोलाले बेपत्ता भएका थिए । उनलाई आज बिहान प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले उनलाई बगाएको स्थानभन्दा करिब ५ मिटर दक्षिणमा फेला पारेको थियो । मृतक भण्डारी फेला परे पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

उनका अनुसार झापामा वर्षात शुरु भए यता मात्र डुबेर र खोलाले बगाएर मर्नेको सङ्ख्या १३ जना नाघिसकेको छ । त्यसैगरी करेन्ट लागेर कमल गाउँपालिका– २ का २२ वर्षीय विशाल रिजालको मृत्यु भएको छ । स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?