उठाइयो सिमकोटको फोहोर

सिमकोट । महिनौँ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहरको थुप्रो बल्ल उठाइएको छ । फोहरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सरसफाइ गरेका हुन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका सबै शाखाका कर्मचारीको सक्रियतापछि महिनौँ दिनमा आइतबार फोहोर उठाइएको छ ।

कालिञ्चोक, लोकतन्त्रचोक, बालमन्दिरचोक र काठेचुलीचोकमा थुप्रिएको फोहर उठाइएपछि बजार सुन्दर देखिएको छ । जनप्रतिनिधि र कर्मचारी हातमा पञ्जा र मुखमा मास्क लगाएर फोहर व्यवस्थापनमा जुटेका थिए ।

फुर्सदिला कार्यालय सहयोगी

सिमकोट गाउँपालिकामा ३६ कार्यालय सहयोगी भए पनि फुर्सदिला देखिएका छन् । गाउँपालिकाले तीन कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहर ट्रयाक्टरमा राख्ने जिम्मा दिइएको छ ।

बजार क्षेत्रको फोहर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । प्रत्येक शुक्रवार फोहोर व्यवस्थापन गर्दा समेत बजार क्षेत्रका उपभोक्ताले जताततै फाल्ने गरेपछि छिटोछिटो जम्मा हुने गरेको प्रमुख प्रशासकीय अधिकृत रोकायाको भनाइ छ ।

सिमकोट बजार क्षेत्रमा जताततै फोहर थुप्रिएपछि सर्वसाधारण छिछी दुरदुर गर्दै हिँड्ने गरेका थिए । फोहर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैलन सक्ने भनी सरोकार पक्षले दुखेसो गरेका छन् ।

महिनौँ फोहोर व्यवस्थापन नहुँदा मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने सम्भावना रहेको सरोकार पक्षले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?