फुट्यो सोलुखुम्बुको चोकर्मा पोखरी

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताए । सो पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उनको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

सल्लेरी सदरकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । ती तालको अवस्थाका बारेमा आधिकारिक रूपमा अध्ययन भने गरिएको छैन । सो उक्त ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुग्नुको साथै कम्तीमा तीन बस्ती नै विस्थापित हुने बताइएको छ । ती बस्तीका मानिसलाई सुरक्षित साथ बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?