कोरोनाको कारण पर्सामा एकैदिन २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण पर्सामा बिहिबार थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षिय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षिय बृद्धको बिहिबार मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए ।

नगवाका ३५ वर्षिय युवकको गण्डक स्थित कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहिबार बेलुकी ८ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए । ज्वरो आएपछि साउन ५ गते उनलाइ तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाइ साउन १३ गते कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।

साउन १३ गते नै कोबीड अस्पतालमा उपचारका क्रममा उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । युवकको मृत्यु बिहिबार बेलुकी ८ बजे भएको भएपनि नारायणी अस्पतालको प्रयोगशालाबाट राति १० मात्रै युवकको रिपोर्ट पोजेटिभ रहेको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । यस्तै बिहिबार बिहान वीरगन्ज २ छपकैया स्थित आफनै घरमा मृत्यु भएका ७० वर्षिय बृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिनुभयो ।नारायणी अस्पतालको प्रयोगशालाबाट बिहिबार राति १० बजे तिर प्राप्त रिपोर्टमा मृतक ७० वर्षियको पिसिआर रिपोर्ट पोजेटिभ रहेको मेसु उपाध्यायले पुष्टि गर्नु भएको हो ।छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहिबार बिहान आफनै घर भित्र मृत अवस्थामा भेटिएका थिए ।

राति सुतेका बृद्ध बिहिबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरी बोलाएका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि वृद्धको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । बिहिबार राति १० बजे उनको पिसिआर रिपोर्ट पोजेटि आएको मेसु उपाध्यायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?