कोरोनाको कारण थप ३ जनाको मृत्यु, मृतक संख्या ५२ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ जिल्ला सुनवर्सी नगरपालिका वडा नं ८ निवासी ४५ वर्षीय पुरुष रहेका छन् । उनको हिजो (साउन १४ गते बुधवार) मृत्यु भएको हो ।

उनलाई उच्च ज्वरो र श्वासप्रश्वासमा कठिनाइ रहेको थियो । उनी निरन्तर भारत आवत जावत गरिरहने गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । उनलाई कोभिड अस्पताल विराटनगरबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो नै रिफर गरिएको र उनको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । उनको प्रतिष्ठानको भ्यान्टिलेटरमा उपचार गर्दागर्दै अपरान्ह ४ ४५ बजे निधन भएको हो ।

त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुष रहेका छन् । मुटु तथा मधुमेह रोगबाट पीडित उनको बुधवार निधन भएको हो । निमोनियाको बिरामी रहेका उनको वीरगञ्जको निजी अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा उपचार गरिरहेका थिए । उनको उपचारको क्रममा हिजो बिहान ११ बजे निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै अर्का पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ५ निवासी ६८ वर्षीय पुरुष रहेका छन् । उनमा गत साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

मिर्गौलाको समेत समस्या भएका उनलाई झाडापखालाको समेत समस्या रहेको थियो । उनी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा गएको र साउन १३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य थप जटिल बनेपछि उनलाई आइसियूमा राखि भर्ना गर्नुपर्ने र नारायणी अस्पतालमा आइसियू नभएकाले नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेजमा साउन हिजो बिहान ३ बजेको समयमा निधन भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?