‘आफूले पाएजस्तै सेवा अरुलाई गर्न मन छ’

बनेपा । गोरखा जिल्ला घर बताउने सजिना परियार अहिले बनेपास्थित फूलचोकी नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययन गर्दै छिन् । तीन कक्षादेखि पनौती नगरपालिका–८ मा रहेको दलित उत्पीडित कल्याण सङ्घद्वारा सञ्चालित ‘ह्याप्पी चिल्ड्रेन होम’ मा बसेर अध्ययन गर्दै आएकी उनीविद्यालय तह सकेर नर्सिङ अध्ययन गर्न थालेकी हुन् ।

“बाबा कहाँ हुनुहुन्छ थाहा छैन, आमा गाउँमा नै हुनुहुन्थ्यो ।” सजिनाले भनिन्, “पहिला–पहिला त सम्पर्क हुन्थ्यो, अहिले सम्पर्क नभएको पनि धेरै भइसक्यो ।” आर्थिक अवस्था कमजोर भएका कारण सजिना अरुको मेलापातमा जान्थिन र त्यहीँबाट जीवन गुजारा गर्छिन् । अहिले १७ वर्षकी उनी अब आफ्नो खुट्टामा उभिन र सकेको सहयोग गर्न लाग्नुपर्छ भन्ने सोचमा रहेकी छिन् । उनीजस्तै अरु १३ साना बालबालिका अहिले सो बालगृहमा बसेर अध्ययन गरिरहेका छन् । सजिना भन्छिन्, “सानैदेखि हामीलाई बिना भेदभाव हुर्काउने र पढाउने गर्नुभएको छ । माया दिएर तालिकाअनुसार नै खाना, खाजालगायत सबै दिएर सेवा गरिरहनुभएको छ ।” चाडपर्व आउँदा पनि त्यही अनुसारले खुशी पाइरहेको उनको भनाइ छ ।

“अस्पताल पुग्दा नर्सहरुले गरेको काम देखेर प्रभावित भएको थिएँ, त्यही भएर ममा पनि नर्सिङ पढेर सेवा गर्ने सोच भएकाले अहिले नर्सिङ पढ्दैछु”, उनले भनिन्, “हामीलाई पढाउन दाता छैन, मलाई पढाउन त गाह्रो भइरहेको छ । साना भाइबहिनी पनि छन्, दाता नभएपछि उनीहरुले भनेजस्तो इच्छाले पढ्न पाउँदैनन् ।” दाताहरुले सहयोग गरिदिए आफूहरूका लागि धेरै सहयोग पुग्ने उनको भनाइ थियो । उनी भन्छिन्, “हामी त अलि ठूला भइसक्यौँ, साना भाइबहिनीले बुझ्दैनन् । घरभाडा तिर्नेदेखि अरु व्यवस्थापनमा धेरै चुनौती छ हाम्रो संस्थालाई, त्यसैले हाम्रो संस्थालाई सहयोगीदाताले सहयोग गर्नुभएमा हामीले पनि पढ्न र जीवनमा केही गरेर देखाउन सक्ने मान्छे बन्नमा ठूलो टेवा मिल्ने थियो ।”

आफू पनि यहीँ हुर्केको र यहीँबाट पढ्ने मौका पाएकाले अब यही संस्थाका लागि केही गर्नुपर्छ भन्ने सोचमा रहेको उनले बताइन् । ज्ञानज्योति बोर्डिङ स्कूलबाट एसइई गरेर उनी अहिले नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययन गरिरहेकी छिन् । “संस्थाका बुबाले स्थानीय दाता र अन्य चिनेजानेकालाई भनेर पढाउँदै आउनुभएको छ, मलगायत अरु दुई भाइ र बहिनीले यसपालि एसइई दिनुपर्ने । कोरोनाको प्रभावले रोकियो, अरु भाइबहिनी नर्सरी/एलकेजीमा पढिरहेका छन्”, उनले भनिन्।

सो संस्थाका सञ्चालक समिति अध्यक्ष शङ्खर परियारले २०६७ सालमा दर्ता गरेर सञ्चालन गरेदेखि निरन्तर दाताहरुको सहयोगमा सञ्चालन गर्दै आएको बताइन् । संस्था दर्ता गर्नु अगाडिदेखि बालबालिकाहरु पाल्दै आएकी उनको संस्थामा १३ बालबालिका छन् । स्थानीय दाताहरुबाट नै व्यवस्थापन गर्दै आएको भए पनि तीन–चार महिनादेखि घर भाडा तिर्न नसकेको अध्यक्ष परियारले बताइन् । घरभाडामा मासिक ३० हजार तिर्ने गरी सञ्चालन गर्दै आएको सो बालगृह सञ्चालन गर्न विद्यालयमा गएर कार्यक्रम गर्ने र त्यहीँबाट सङ्कलन भएको दुई÷चार हजार रकमबाट अरु व्यवस्थापन गर्दै आएको उनले बताइन्।

अहिले सो बालगृहमा पनौतीलगायत मकवानपुर, रोल्पा, गोरखा र सिन्धुपाल्चोक जिल्लाका गरी तीन वर्षदेखि १८ वर्षसम्मका १३ बालबालिका छन् । बालगृहमा रहेका बालबालिका पुण्य माध्यमिक विद्यालय र ज्ञानज्योति बोर्डिङ स्कूल पनौतीमा अध्ययन गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?