उद्योगी, व्यवसायीहरुले आशा गरे अनुसार नै मौद्रिक नीति आयो : व्यवसायी

काठमाडौं । उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् ।

कोभिड-१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा भने अर्थविदहरुले आशंका गरेका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताए । नीति जुन स्प्रिटमा आएको छ त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको उनले बताए ।

बैंक तथा वित्तिय परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुनपर्ने बताए । १ करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुने गरी नीति आएको उनले बताए । कोभिड-१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुर्नकर्जाको व्यवस्थाले ठूलो सहयोग पुग्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका नीजि क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताए । लकडाउनबाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र व्याज तिर्ने म्याद समेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुर्नजीवन दिन समस्या नहुने उनले बताए ।

रिपोर्टस क्लबमा भएका साक्षत्कारमा व्यवसायीहरुले राष्ट्र बैंकले नीति कार्यान्वयनका लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंक भित्रै ‘टास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने सुझाव उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?