कैलाली । कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’जस्ता विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ भने स्वास्थ्य एवं विकास निर्माणमा नयाँ कार्यक्रम अगाडि सारेको छ ।
नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७४९ रुपैयाँ तथा पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३०० रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोकथाम एवं उद्धारका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सातौँ नगरसभामा आगामीका लागि विनियोजन गरिएको बजेट प्रश्तुत गर्दै उपप्रमुख केशरी रावल विष्टले कोरोना भाइरस सङ्क्रमणका लागि ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
नगरपालिकाले विशेषज्ञ सेवा, निःशुल्क रगत, एम्बुलेन्स, आमासँग उपप्रमुख जस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयु सेवा सञ्चालनका लागि ५० लाख ४० हजार, निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आमासँग उपप्रमुख कार्यक्रमका लागि १० लाख, नमूना स्वास्थ्य चौकी र पोषणमैत्री वडा कार्यालयका लागि १० लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि ३२ लाख बजेट विनियोजन गरेको छ । यी कार्यक्रमसहित स्वास्थ्य क्षेत्रको विकासका लागि चार करोड ७८ लाख ९३ हजार ३६ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, बालविवाह न्यूनीकरण गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमलाई निरन्तरता दिन पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।
छाउपडी गोठमुक्त नगरपालिका घोषणा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको क्षमता विकास तथा अपाङ्गता भएकाको परिचयपत्र वितरणका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘एक वडा, एक गौरव’को सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि सात करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । दातृ निकायबाट सञ्चालन हुने साझेदारीका आयोजना कार्यान्वयनका लागि १० करोड २६ लाख ४९ हजार रुपैयाँ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न दुई करोड १४ लाख ९८ हजार रुपैयाँ, मुक्तकमैयाका आवास निर्माणका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आधुनिक शवदाह निर्माणका लागि ३० लाख रुपैयाँ, मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि ११ लाख रुपैयाँ, उपप्रमुख अनाथ, असहाय छात्रवृत्तिका लागि १० लाख रुपैयाँ, मेयर उपप्रमुख कप खेलकूद कार्यक्रमका लागि १५ लाख रुपैयाँ, निःशुल्क पाठ्यपुस्तक वितरणका लागि ६९ लाख रुपैयाँ, दिवा खाजा कार्यक्रमका लागि एक करोड ४६ लाख ५८ हजार रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।
त्यस्तै, बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि १६ लाख ३२ हजार रुपैयाँ, सेनेटरी प्याड खरिदका लागि ५२ लाख रुपैयाँसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार ७०० विनियोजन गरिएको छ ।
छालाको जुत्ता उत्पादन प्रवर्द्धन कार्यक्रम रु चार लाख, बडघरको क्षमता विकासका लागि एक लाख ५० हजार रुपैयाँ बजेट रहेको छ ।
नगरपालिकाले कृषितर्फ एक करोड १२ लाख ७६ हजार ७०० रुपैयाँ रकम विनियोजन गरेको छ । पशु सेवातर्फ कृत्रिम गर्भाधान, भैँसीका साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास, विभिन्न घाँस खेती, विभिन्न प्रजातिका चल्ला उत्पादन गरी एक करोड ६९ लाख २८ हजार १०० रुपैयाँ रकम विजियोजन गरेको छ ।
पर्यटन प्रवर्द्धन गर्न २१ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ । नगरसभाले दुईवटा विधेयक पारित गरेको छ ।
उपप्रमुख विष्टले प्रश्तुत गरेका आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरेका हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया