हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद १७ हजारसहित रुपैयाँ ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरेको छ भने अन्य छ जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार वितरण गरेको छ ।
उपमहानगरपालिकाले द हिमालयन टाइम्समा कार्यरत पत्रकार प्रकाश दाहाल, कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकमा कार्यरत सुवास बिडारी, नयाँ पत्रिका दैनिकमा कार्यरत सुदीप शिवाकोटी, हेटौँडा एफएममा कार्यरत कृष्ण उदास खनाल, समृद्ध समाज दैनिक तथा रेडियो निकासमा कार्यरत सुरेश श्रेष्ठ र सहिखबर साप्ताहिकमा कार्यरत सरिता दाहाललाई नगदसहित सम्मान गरेको हो ।
पुरस्कृत पत्रकारलाई जनही नगद १३ हजार ५०० रुपैयाँ, दोसल्ला र प्रमाणपत्रसहित उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीनाकुमारी लामाले सम्मान प्रदान गरिन् । अग्रज पत्रकार सम्मान प्राप्त गरेका शर्मालाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दोसल्ला ओडाएर सम्मान गरे । हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभाका अवसरमा बुधवार आयोजित समारोहमा उनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
यसैबीच विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीन लाख रुपैयाँ राहत दिने भएको छ । हेटौँडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रश्तुत गर्दै उपप्रमुख लामाले उक्त घोषणा गरेका हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया