कहिले खुल्ला विमानस्थल ? अधिकारी भन्छन्–विमान बस्ने ठाउँ नै छैन

काठमाडौं । कोरोनाभाइरसका कारण सिर्जित परिस्थितिका कारण सरकारले आगामी असार २१ गतेसम्म व्यवसायिक उडानमा रोक लगाएको छ । यो नियम आन्तरिक र अन्तराष्ट्रिय दुबैमा लगाइएको छ ।

तर असार २१ पछि पनि तत्काल विमानस्थल खुल्ने अवस्था नरहेको अधिकारीहरुले बताएका छन् ।

कोरोना नियन्त्रण उच्चस्तरीय समिति वा नयाँ मन्त्रिपरिषद्को निर्णयपछि मात्रै व्यवसायिक उडान खुल्न सम्भव रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनले उडान खुलाउन नेपालको मात्रै वसमा नरहेको पनि बताए । यात्रुको आवागमन तथा अवस्था सामान्य भएपछि मात्रै यात्रुको चाप बढ्न सक्ने हुँदा यो कहिले हुन्छ भन्ने पनि भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

उनका अनुसार बाह्य भन्दा पहिले आन्तरिक उडान खुलाउन सकिन्छ ।

यता विमानस्थल प्रमुख देवेन्द्र केसी अहिले विमानस्थलमा जहाज धेरै पार्किङ रहेको भन्दै ती नउडेसम्म विमान सहज रुपमा उड्ने अवतरण गर्ने स्थान पनि नरहेको बताए । उनले भने, ‘आरए, हिमालयका जहाज नउडेसम्म जहाज बस्ने ठाउँमै छैन । उडान कहिले देखि सञ्चालन हुने पनि टुंगो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?