सुकुम्बासी बस्तीमा उज्यालो छाउँदै

राँझा । ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालगञ्ज– १८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्यक्रम थालिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तराई–मधेश समृद्धि विकास कार्यक्रममार्र्फत गरीब, मधेसी, मुसलमान तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जाको योजना बनाएर प्यानल वितरण गरिएको वडाध्यक्ष दीपक बर्माले बताए।

उनका अनुसार बस्तीका ५४ घरपरिवारलाई पुग्ने गरी प्यानल वितरण भइसकेको छ ।

कार्यक्रमअन्तर्गत २५९ प्यानल जडान गर्ने वडा कार्यालयको योजना छ ।

यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । विसं २०६०मा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका घरपरिवारलाई प्यानल दिइएको हो ।

“विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् ।

नगरभित्रैको बस्तीका बासिन्दा अँध्यारोमा बस्न नपरोस् भनेर सोलार प्यानल सहयोग गरिएको हो”, वडाध्यक्ष वर्माले भने, “अब सुकुम्वासी बस्तीमा पनि अँध्यारो हटेर उज्यालो छाउँदैछ । वितरण गरिएको सोलारबाट पाँच वटा बत्ती र एउटा पङ्खा चल्ने क्षमता रहेको छ ।”

तराई–मधेस समृद्धि विकास कार्यक्रममार्र्फत प्राप्त रु ४५ लाख बजेटबाट प्यानल वितरण कार्यक्रम भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिए।

स्थानीयवासी धनबहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले विद्युत्को मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका अवस्थामा प्यानल वितरणले बस्ती उज्यालो भएको बताए । आर्थिक अवस्था कमजोर भएका परिवारले प्यानल पाएपछि बस्तीमा उज्यालोसँगै खुशीयाली छाएको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?