स्थानीय सरकारका पदाधिकारीले सुझबुझपुर्ण काम गर्नुपर्छ : आइसानी

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानी लाबेले संकटको समयमा सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएकी छिन् ।

उनले संकटको समयमा गरिने काम वा निर्णयहरु लक्षित बर्गमा पुगे-नपुगेकोमा पनि स्थानीय सरकारहरु सचेत हुन आवश्यक रहेको बताइन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज ले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले संकटको समयमा जोखिममा परेको बर्गको समस्या तत्काल सम्बोधन गर्ने गरि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताइन् ।

उनले संकटको समयमा तत्काल निर्णयमा पुग्नुपर्ने र त्यसो गर्दा गल्ती पनि हुन सक्ने भएकाले गल्ति सच्याउदै र पुन दोहोरिन नदिने तर्फ सचेत भई कामकारवाही गर्नुपर्ने आवश्यकता औल्याइन् ।

उनले भनिन् “ संकटको समयमा हाम्रा निर्णयहरु सुझबुझपुर्ण ढंगले लिनुपर्ने हुन्छ । हाम्रा निर्णय र कार्यहरु सबैको पहुँचमा कति छिटो पुगे ? कति छिटो निर्णय गर्नसक्यौ ? संकटमा तत्काल निर्णय गर्नुपर्ने भएकाले गल्ती हुन सक्छ । गल्ति हुदा हामीलाई समस्या समाधानमा अगाडि नभई पछाडि लैजान्छ । त्यसैले तुरुन्तै सुधार गरेर फेरी गल्ती नदोरिने गरि सुधार गर्नुपर्छ । तत्काल सहयोग गर्नुपर्ने वर्गको पहिचान गरि जोखिममा भएकाको समस्या सम्बोधन संगै जोखिममा नभएका जनताप्रति पनि लचक हुनुपर्ने हुन्छ । राहत वितरण गर्दा अन्य वर्ग पनि पर्न सक्ने भएकाले ध्यान दिन सुझाव दिन्छु । तपाईहरुले कोभिड-१९ कै जस्तो नभएपनि अन्य प्रकारका संकटको सधै सामना गर्दे आउनुभएको छ । अब पनि संकटको समाधान गर्न तपाईहरु सक्षम हुनुहुनेछ भन्ने विश्वास मैले लिएकी छु । ”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले संकट समाधानमा स्थानीय सरकारका पदाधिकारीले सफल र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संकट विज्ञ डाक्टर राम थपलियाले कोभिड-१९ को व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपक्तिमा बसेर काम गर्नुपर्ने भएकाले संकट व्यवस्थापनका विविध पक्षलाई ध्यानदिनुपर्ने आवश्यकता औल्याए ।

उनले नेतृत्वदायी भूमिकामा रहेका स्थानीय सरकारका पदाधिकारीले सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र तत्कालको आवश्यकतालाई व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए । कोभिड-१९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषय सम्बन्धी प्रशिक्षणमा स्थानीय सरकारका पदाधिकारीहरु जुम मार्फत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?