रोल्पा । जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौँ हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् ।
यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् ।
रोल्पा जिल्लाबाट सुरेन्द्र हमालपछि विसं २०५६ मा रोल्पाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचन जित्ने उनी दोस्रो व्यक्तित्व हुन् ।
विसं २०५६ को संसदीय निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएसंँगै उनको संसदीय यात्रा शुरु भयो ।
रोल्पाबाट काठमाडौँ जानै सकस । कतिबेला माओवादीको तारो भइने हो कि भन्ने चिन्ता थियो । सांसद निर्वाचित भएपछि जसोतसो उनी रोल्पाबाट काठमाडौँ पुगे ।
आचार्य प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन समितिका सभापति पनि बने । संसदीय समितिमा रहँदा उनी आफूले प्राकृतिक स्रोत व्यवस्थापनका धेरै जनपक्षीय काम गरेको सम्झन्छन् । “जल र जङ्गल जस्ता नेपालका अपार प्राकृतिक स्रोतको उपयोगबाट देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो”, आचार्यले भने ।
तत्कालीन अवस्थामा सांसदको मासिक पारिश्रमिक रु १८ हजार हुन्थ्यो ।
सशस्त्र द्वन्द्वका कारण जिल्ला बस्न नसकेका कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र तत्कालीन नेकपा (एमाले) का समर्थक, शुभचिन्तक तथा नेताकार्यकर्ता उनको काठमाडौँस्थित डेरामा पुग्थे । जिल्ला फर्कन सक्ने अवस्था नभएका ती नेताकार्यकर्ता महिनौँ सम्म काठमाडौँमा उनकै डेरामा बस्थे ।
जिल्लावासीको बसाइ र खानपानमै सांसद आचार्यको तलब सकिन्थ्यो ।
उनीसंँगै काठमाडौँ छिरेका थुप्रै साथीहरु उतैका बासिन्दा भइसकेका थिए । आचार्य भने जनताको दुखःसुखमा साथ दिन जिल्ला फर्किए ।
जिल्लामा रहेर प्रहरी, प्रशासन, नापी, मालपोत, बैंक, अदालत जस्ता सरकारी अड्डाका झम्झटिला काममा दुखः पाएका जनतालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो ।
“टाढाटाढावाट पैदल यात्रा गरे दुःखकष्टका साथ आएका जनतालाई सरकारी कार्यालयका कर्मचारीले समयमा काम नगरिदिँदा समय र पैसाको बर्बाद देखेर मैले उनीहरुको सेवाभावले सहयोग गर्ने काम अहिले पनि निरन्तरता दिइरहेको छु”, आचार्यले भने, “कार्यालय खुलेको बेला जनताको दैनिक समस्यामा सहयोग गरेर म मेरो समय उपयोग गर्छु”, चौसठ्ठी वर्षीय आचार्यले भने ।
कोरोना भाइरसले विश्वव्यापी सन्त्रास फैलाइरहेका बेला गरिएको बन्दाबन्दीमा भने पूर्वविधायक करीब दुई महिनादेखि फुर्सदिलो भएका छन् । उनी अचेल आफ्नै पैत्रिक सम्पत्तीका रुपमा रोल्पा नगरपालिका वडा नं २ मा रहेको साढे सात रोपनी खोरिया फाँड्दै छन् ।
“यसअघि कहिल्यै सफाइ गर्न भ्याइएको थिएन, लकडाउनले काम गर्ने साइत जुराइदियो”, उनले भने।
उनले सो जग्गामा टिमुर र कागती खेतीगर्ने योजना बनाएका छन्। कागती खेतीका लागि जमीन, माटो र हावापानी उपयुक्त छ कि छैन भनेर नगरपालिकाका कृषि प्राविधिकलाई पनि उनले देखाइसकेका छन्।
टिमुर खेतीको सम्भाव्यताका लागि वन प्राविधिकबाट पनि जाँच गराउने योजना रहेको आचार्यले सुनाए।
मिहेनत गर्न लाज मानेकै कारण देशको ठूलो युवा जनशक्ति विदेशिनुपरेको उनको बुझाइ छ । जमीन सबै बाँझिएका छन् ।
आफ्नो जग्गामा छिटो प्रतिफल दिने बोटबिरुवा रोपेर आत्मनिर्भर बन्न सकिने ठानेर आफूले काम शुरु गर्ने सोच बनाएको उनी बताउँछन् ।
यसका लागि सरकारले वास्तविक किसानलाई अनुदान र प्राविधिक सहयोग दिनुपर्नेमा राजनीतिक पहुँचका आधारमा वितरण गर्दा वास्तविक किसान मर्कामा परेको आचार्यको गुनासो छ ।
“युवाहरुलाई नेताहरुले बाटो देखाउनुपर्छ, सबै राजधानीमै बस्दा गाउँ बाँझै हुन्छ, अब देशमा कृषिक्रान्ति गरेर मुलुकलाई समृद्ध बनाउनुपर्छ”, उनले भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया