संयुक्त कोरोना अस्पताल सञ्चालनमा जुटे स्थानीय तह

काठमाडौं – कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहले कोरोना भाइरसको जोखिम हुन नदिन संयुक्त रुपमा विभिन्न काम अगाडि बढाएका छन् । पछिल्लो समय भारत तथा देशभित्रैबाट स्थानीय तहमा आउने नागरिकको सङ्ख्या बृद्धि र सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गएपछि स्थानीय तहका प्रमुखहरुले महामारीको सामना गर्न एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकी, महुन्याल, र बर्दगोरिया गाउँपालिकाले संयुक्तरूपमा सो निर्णय गर्दै टीकापुर अस्पतालको स्तरवृद्धि र सभागृहलाई आइसोलेसन वार्डका रुपमा सबै स्थानीय तहको लगानीमा निर्माण गर्ने निर्णय भएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

सो अस्पतालमा कोरोना भाइरसको सङ्क्रमितका लागि १२ आइसोलेसन कक्ष निर्माण गरिएको छ । अहिले सो अस्पतालमा जानकी गाउँपालिकामा देखिएका छ जना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितको सङ्ख्या थपिएको अवस्थामा अस्पताल एक्लैले केही गर्न नसक्ने भन्दै आगामी दिनको योजनासहित टीकापुर सभागृहमा २५÷३० वार्डको आइसोलेसनकक्ष बनाउने र बाँकी सम्भावित भवनको खोजी गरी तयारी अवस्थामा राख्ने कुरामा स्थानीय तहको सहमति भएको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईँले बताए ।

“टीकापुर भौतिक संरचनाका हिसाबमा ठिक छ । यो महामारीको बेला अन्य गाउँपालिकाले चाहेर पनि संरचना र अन्य कुराको व्यवस्थापन गर्न सक्दैनन्”, उनले भने, “चिकित्सकका हिसाबले पनि टीकापुर उत्तम छ । त्यसैलाई मध्यनजर गर्दै महामारीको सामना गर्न हामी कैलालीको पूर्वी क्षेत्रका सात स्थानीय पालिका एक ठाउँमा आएका छौँ ।”

सो अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले स्थानीय गाउँपालिकाले महामारीको समयमा एक ठाउँमा आएर सहकार्य गर्ने निर्णयले अस्पताललाई पनि सहज हुने बताए । “बिरामी भए त्यो पालिकाका बिरामीको उपचार गर्दैनौँ भन्न मिल्दैन । लगानीमा टीकापुर नगरपालिकाले मात्र गर्ने तर फाइदा सबैले लिने भएको थियो”, उनले भने, “अब सबै स्थानीय तह एक ठाउँमा आउनुभएको छ । जनशक्ति थप्न र भौतिक संरचना निर्माणमा पनि सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।”

सबै स्थानीय तहले समन्वय र सहकार्य गरी अगाडि जाँदा आर्थिकरूपमा पनि कम पर्न जाने र समाजमा पनि त्यसले सकारात्मक सन्देश दिने भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बताए । उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि टीकापुर अस्पतालसँग समन्वय गर्न सकेको अवस्थामा उपचारका लागि नेपालगञ्ज, धनगढी नै जानुपर्ने बाध्यताको अन्त्य हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?