काठमाडौं – नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या ६ पुगेको छ ।
गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । यसअघि ललितपुरका एकजनाको मृत्यु भएको थियो । नेपालमा हालसम्म ५ जना पुरुष र एकजना महिलाको मृत्यु भएको छ । आज थपिएका संक्रमित भूमिकास्थान अर्घाखाँचीका हुन् ।
भारतबाट आएका थिए पछिल्ला मृतक :
उनी कामको सिलसिलामा भारतमा थिए । उनी गत जेठ १० गते भारतबाट नेपाल आएका थिए । उनको स्थायी ठेगाना अर्घाखाँची भूमिकास्थानहो । उनको उमेर ३५ वर्ष थियो ।
भूमीस्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षका पुरुषको गएराती मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा काम गर्दै आएका उनी गत जेठ १० गते नेपाल प्रवेश गरेपछि जेठ ११ गते उनको स्याम्पल परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।उनीसँगै सम्पर्कमा आएको अन्य व्यक्तिहरुको नमुना लिने काम जारी रहेको प्रवक्ता देवकोटाले बताए ।
नेपालमा एकैपटक १७० जनालाई कोरोना संक्रमण

नेपालमा आज शुक्रबार थप १७० जनालाई कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
आज थपिएका संक्रमित कहाँका हुन् ?

प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले जानकारी दिए । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।
कति भयो परीक्षण ?
नेपालमा पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

रेड जोनमा छन् ५१४ जना
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संभावित संक्रमित ५१४ जना पुगेका छन् । मन्त्रालयको बेवपेज, मोबाईल एप्लिकेसन मार्फत् स्वमूल्याकंन फाराम भरेका कुल ५० हजार ८ सय ४६ जनामध्ये ५१४ जना रेड जोनमा परेका हुन् । गत २४ घण्टामा मात्रै यसरी फाराम भर्नेको संख्या १४४१ छ । तिमध्ये ५ जना रेड जोनमा परेका छन् उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।
पछिल्लोपटक रेड जोनमा थपिएकाहरु काठमाडौ, ललितपुर, सुनसरी र झापाका हुन् । उनीहरुलाई ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सम्पर्क गर्ने कार्य भइरहेको छ ।
कुन प्रदेशका कति वटा जिल्लाका कति जना संक्रमित ?
प्रदेश नम्बर १ का ८ जिल्लामा संक्रमण फैलिएको छ भने कुल १ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश २ मा ८ जिल्ला अर्थात् सबै जिल्लामा संक्रमण पुष्टि भएको छ भने ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वाग्मती प्रदेशको १२ जिल्लामा संक्रमण देखिएको छ भने ४४ जनालाई कोरोना छ । गण्डकी प्रदेशमा २० जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण ५ जिल्लामा फैलिएको छ । प्रदेश ५ को ९ जिल्लामा संक्रमण देखिएको छ भने ४३३ जना संक्रमित छन् । कर्णाली प्रदेशमा ३ जिल्लामा संक्रमण देखिएको छ भने ४७ जनालाई कोरोना देखिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा संक्रमण देखिएको छ भने २१ जना संक्रमित भएका छन् । यससँगै नेपालमा कुल १ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा २०६ जनाले जिते कोरोना
नेपालमा हालसम्म २०६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि घर फर्किएका मध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मात्र १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।शुक्रवार घर फर्किनेमा टेकु अस्पताल काठमाडौंबाट २ जना, पाटन अस्पतालबाट ७ जना, युनिफाइड अस्पताल बलम्बु काठमाडौंबाट ३ जना र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
कर्णालीमा क्वारेन्टाइनमा बसेकाहरूलाई भत्ता दिइने
कर्णालीमा क्वारेन्टाइनमा बस्नेहरूलाई भत्ता उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले क्वारेन्टाइनमा बसेकालाइ खाना, बस्न व्यवस्थासहित निर्वाह भत्ता उपलब्ध गराइने बताएका हुन् ।
आईसोलेसनमा छन् १ हजार जना
नेपालको विभिन्न स्थानमा भएका आईसोलेसनमा १ हजार जना उपचाररत छन् । तिमध्ये प्रदेश १ मा १ सय २७ जना, प्रदेश २ मा ३ ८७ जना, वाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा ३८३ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।
निको भइ घर फर्किए नुवाकोटका पहिलो कोरोना संक्रमित
नुवाकोटका पहिलो कोरोना संक्रमित ५ दिनको उपचारपछि निको भएर घर फर्किएका छन् ।ककनी गाउँपालिका वडा नं ३ स्थायी घर भएका ३० वर्षीय पुरुषलाई गत जेठ ११ गते कोरोना संक्रमण पुष्टि भई टेकु अस्पतामा भर्ना भएका थिए ।काठमाडौं महानगरपालिकाको समन्वयमा गरिएको कोरोना परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि हुनुपूर्व ती पूरुष काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए । उनमा कोरोना संक्रमण देखिएपछि उनको संगतमा आएका अन्य व्यक्तिहरुको समेत कोरोना परीक्षण गरिएको थियो । तर अरुमा भने कोरोना पुष्टि भएको थिएन ।
कोरोना संक्रमित थपिएसँगै बढे क्वारेन्टाईनमा बस्नेहरु
नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या झण्डै १ लाख पुगेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ४७, प्रदेश २ मा १६ हजार ६ सय ७८, बाग्मती प्रदेशमा १ हजार ९ सय ५४, गण्डकी प्रदेशमा २ हजार ८ सय १४, प्रदेश ५ मा ३२ हजार ३ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय ५ र सुदूरपश्चिम प्रदेशका २५ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौंमा नै छैन क्वारेन्टाइन :
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टाइनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ ।
शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको प्रतिवेदनमा हाल सञ्चलनमा रहेको क्वारेन्टाइनको सङ्ख्या धेरै अपुग र अव्यस्थित रहेकाले होटल, लज र रिसोर्टलाई क्वारेन्टाइनका रूपमा विकास गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा भनिएको छ हाल सञ्चालनमा रहेको धेरै क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मान्यताविपरीत रहेको र तीनको अवस्थामा सुधार गरी अब निर्माण गरिनेलाई मापदण्डअनुरुप बनाउनुपर्ने पनि बताइएको छ ।
स्थानीय तहहरुले कोरोना जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणमा लाग्नुपर्ने आज शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री रामवीर मानन्धरले सो जानकारी दिए । उनका अनुसार निर्माणका लागि स्थानीय र प्रदेश सरकारले २५-२५ प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत आर्थिक लगानी गर्नुपर्ने हुन्छ ।
के छ प्रतिवेदनमा ?
छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाले व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग अपरिहार्य रहेको, प्रारम्भिक स्वास्थ्य परीक्षण र पारवहनको जिम्मा प्रदेश सरकारले लिने पनि प्रतिवेदनमा भनिएको छ । लकडाउनपछि तेस्रो मुलुकबाट नेपाल आउन सक्ने व्यक्तिको सङ्ख्या यकिन गरी तीनको व्यवस्थापन पक्षमा पनि ध्यान दिइ उनीहरुको आर्थिक क्षमताका आधारमा वर्गीकरण गरी सोहीअनुरुपको स्वास्थ्य जाँच र पारवहन र क्वारेन्टाइनको व्यवस्था मिलाउने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।
क्वारेन्टाइनस्थलमा आधारभूत आवश्यकताको व्यवस्थापन अनिवार्य र मनोरञ्जनात्मक सामग्रीको अलवा इन्टरनेटको व्यवस्था गरिनुपर्ने विषय पनि उल्लेख गरिएको छ । मन्त्रिपरिषद्को गत चैत १६ गते बसेको बैठकले शहरी विकास राज्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको जिम्मेवारीअनुरुप काठमाडौँ उपत्यका क्वारेन्टाइन सञ्चालन गर्न सकिने स्थान र उपत्यका बाहिर हाल सञ्चालनमा रहेको क्वारेन्टाइनको अनुगमन पनि यस किसिमको प्रतिवेदन तयार गरिएको हो ।
प्रतिवेदन तयार पार्नका लागि स्वास्थ्यराज्यमन्त्री नमराज रावतले पश्चिम क्षेत्रको भ्रमण गरेका हुन् भने शहरी विकास राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाको सम्बन्धित स्थानको अनुगमन गरेका थिए । हालसम्म काठमाडौँ उपत्यकाका एक वटा पनि क्वारेन्टाइन निर्माण भएको छैन । उक्त प्रतिवेदन जेठ १५ गते प्रधमनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि बुझाइएको छ ।
विश्वमा महामारीको पछिल्लो अवस्था :
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६२ हजार ८१ जनाको मृत्यु भईसकेको छ भने ५९ लाख ९ हजार ३ जनालाई संक्रमण भएको छ ।त्यस्तै २५ लाख ८१ हजार ९५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख ३ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने १७ लाख ६८ हजार ४६१ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया