पिसीआर परीक्षणपछि ४५ घर फिर्ता

जुम्ला । जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टाइनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए ।

उनीहरुको मङ्गलवार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

“सोमवार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मङ्गलवार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टाइनबाट बिदाइ गरिएको छ”, उनले भने, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ । पालिकाको एकीकृत क्वारेन्टाइनमा शुरुमा निर्माण गरेको ४३६ शैयाको क्वारेन्टाइनलाई थप गरी एक हजार शैयाको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा भारतबाट दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिनेक्रम बढेकाले क्वारेन्टाइन अहिले भरिभराउ छ ।

प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टाइनमा २८ बसिरहेका छन् । दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ ।

चाँडै स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रहरी प्रमुख कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताए । अहिले आउनेमा यहाँको क्षेत्र नं (ख) का नागरिक क्वारेन्टाइनमा बढी छन् । अब आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता छ ।

अब सदरमुकाम वा नजिकै चाँडै क्वारेन्टिनको सङ्ख्या व्यवस्थापन गर्नुपर्नेछ । यदि अब बाहिरबाट आउने मानिसको व्यवस्थापन नभइ घर जानुपर्ने बाध्यता भयो भने हालसम्म गरेका सबै उपलब्धि पनि फेरि गुम्ने डर हुनसक्के प्रमुख धामीले बताए । हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ ।

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायीको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारीमा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको हो ।

भारतबाट भित्रिनको सङ्ख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयवासीले सरोकारवाला निकायलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक हप्ताअघिसम्म आएका सबैको पिसीआर परीक्षण गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ आइसकेको छ । कामका सिलसिलामा भारत गएकाहरु फर्किन थालेपछि जिल्लावासी त्रासित भएका छन् ।

भारतबाट भित्रिनेको सङ्ख्या बढ्दै

भारतबाट जुम्ला भित्रिनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । सोमवार र मङ्गलवार मात्रै १०० जना क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ सङ्ख्या बढेको हो । जिल्लाभरका क्वारेन्टाइनमा ६४ जना रहेकामा दुई दिनयता बाहिरबाट आएकाको सङ्ख्या बढेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताए।

क्वारेन्टिनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका छन् । जिल्लामा ४३६ शैयाको क्वारेन्टाइन रहेकोमा एक हजार शैया पुर्याउने योजनाका साथ अहिले काम भइरहेको जिल्ला समन्वय समतिले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान

जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ ।

गाउँपालिकाभित्रका विभिन्न वडामा आरसिसी, गोरेटो बाटो, सिँचाइ कुलो, ढल निकास, कृषि सडक निर्माणको काम दिएको र गाउँपालिकाले तयार पारेको तथ्याङ्कअनुसार अतिविपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए।

लामो समयदेखि लकडाउन हुँदा घर खर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आवद्ध भएका मजदुर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए। प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् ।

सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई ४२ लाख रुपैयाँरकम सशर्त अनुदान दिएको छ ।

सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिको रोजगार शाखाले जनाएको छ ।

जिल्लाको तातोपानी गाउँपालिका, कनकासुन्दरी, पातारासी, चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले अतिविपन्न र बेरोजगारको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ ।

लकडाउनको सास्ती खेपिरहेका नागरिकलाई एक हप्ताभित्र कामसहितको रोजगारी दिने तातोपानी गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताए।

गत फागुन ८ गते १५ दिने सूचना प्रकाशित गरी रोजगार संयोजकको विज्ञापन गरेको तिला गाउँपालिकाले रोजगार संयोजकको परीक्षा गर्न नसक्दा गाउँपालिकामा रोजगार संयोजक नहुँदा रोजगार कार्यक्रम प्रभावित भएको र कोरोना भाइरस अन्त्य भएपश्चत रोजगार संयोजकको छनोट प्रक्रिया अघि बढ्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जङ्गबहादुर बस्नेतले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?