म्याग्दीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा पहिलोपटक बिहीवार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

“सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ”, उनले भने, “बिहीवार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।”

कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए । उनी र सँगै आएकालाई सिधै क्वारेन्टाइनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन ।

उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए ।

म्याग्दीमा बिहीवारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीवार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?