काठमाडौं – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा आज (बिहीवार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैपटक थपिए १५६ कोरोना संक्रमित
नेपालमा आज (बिहीवार) थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेका छन् ।
बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।
आज (बिहीबार) सम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
कहाँका हुन् थपिएका संक्रमित ?
बिहीबार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ ।
यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको छ ।
यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा धनुषाका ४ वर्षिया बालिका सहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना
दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै सुर्खेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षिया बालिका सहित १३ र दैलेखका ८ जना छन् ।
गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीषणमा हेटौडाका एक, भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपश्चिममा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।
आज थप ४ जनाले स्वास्थ्य लाभ गरे
यसैबीच नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज थप ४ जनाले स्वास्थ्य लाभ गरेका हुन् । निको हुनेमा १४४ जना पुरुष छन् भने ४३ जना महिला रहेका छन् ।त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । हिजो थप एकजनामा कोरोना पुष्टि भएको हो ।
आइसोलेसनमा छन् ८ सय ५० जना
देशभरका यस्तै अहिले देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमित आइसोलेसनम उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ९९, प्रदेश नम्बर २ मा ३ सय १३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा ३ सय २९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
कोरोनाबाट थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला भैसेपाटी घर भएका ५९ वर्षीय पुरुष रहेका छन् । उनी कलेजोका बिरामी थिए । पाटन अस्पतालमा उपचार गराइरहेका उनलाई किष्ट अस्पतालमा रिफर गरीएको थियो । उनको बुधवार ९हिजो ० बेलुकी ७ बजे मृत्यु भएको हो । मन्त्रालयका अनुसार उनको स्वाब कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा सिन्धुपाल्चोककी एकजना २९ वर्षीया महिला, बाँके नरैनापुरका एकजना २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय एकजना पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्ध रहेका छन् ।
नेपालमा हिजो एकैदिन थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दार्चुलामा पहिलोपटक भेटिए कोरोना संक्रमित
दार्चुलामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा दार्चुलाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दार्चुलामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
कति भयो परीक्षण ?
बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर १ मा ११ हजार ३ सय २२, प्रदेश नम्बर २ मा ६ हजार ६ सय १७, बागमती प्रदेशमा २४ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १८ हजार ७ सय ९४, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ३५ जनाको आरडिटी परीक्षण भएको छ ।
सोलुखुम्बुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि
सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा सोलुखुम्बुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका ५१ वटा जिल्लामा संक्रमण देखिएको छ ।
कुन प्रदेशमा कति छन् संक्रमित ?
प्रदेश १ का ८ वटा जिल्लाका १२९ जनामा संक्रमण देखिएको छ । प्रदेश २ का सबै ८ जिल्लामा संक्रमण देखिएको छ । त्यहाँ ४ सय १५ जना संक्रमित छन् । वाग्मती प्रदेशमा १२ जिल्लामा संक्रमण देखिएको छ ४४ जना संक्रमित छन् ।
गण्डकी प्रदेशका ४ जिल्लामा संक्रमण फैलिएको छ भने १७ जना संक्रमित छन् । प्रदेश ५ का ९ जिल्लामा संक्रमण फैलिएको छ भने ३६९ जना संक्रमित भएका छन् । कर्णाली प्रदेशका ३ जिल्लामा संक्रमण देखिएको छ भने ४७ जना संक्रमित भेटिएका छन् । र सुदूरपश्चिम प्रदेशको ७ वटा जिल्लामा संक्रमण फैलिएको छ । बझाङ र दार्चुलामा आज नयाँ संक्रमित देखिएका हुन् । यसरी २१ जनामा संक्रमण फैलिएको छ ।
बझाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
बझाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमा छन्, ८६ हजार ५७ जना
त्यसैगरी प्रदेश नम्बर १ मा २ हजार ९१, प्रदेश नम्बर २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१ र गण्डकी प्रदेशमा २ हजार २ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २९ हजार १ सय ५८, कर्णाली प्रदेशमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २२ हजार २ सय १५ जना गरी देशभरी ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।
दोलखामा पहिलोपटक कोरोना संक्रमित फेला
दोलखामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा दोलखाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज लकडाउनको ६६ दिन, संक्रमित बढेसँगै प्रहरीको कडाई :
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ ।
लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । मानिसहरुको आवागमन पनि देखिदैन ।
संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ । अत्यावश्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् ।
मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् ।
दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् ।
गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ ।
कोरोना सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च
नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् ।
सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।
“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ”
चिकित्सकको अध्ययनले साउनसम्ममा कोरोना सङ्क्रमण उच्च तहमा पुग्ने अनुमान गरेको छ । महामारीलाई सरकारको नियन्त्रणबाहिर जान नदिन अहिलेदेखि नै उच्च तयारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको सेनाले जनाएको छ ।
आज प्रदेश नं २ मा मात्रै थपिए ७६ जना कोरोना सङ्क्रमित :
प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीवार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधवारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो ।
गत मङ्गलवारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।
पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् ।
प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधवारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ ।
यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टाइन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ ।
स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले जानकारी दिए।
प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टाइन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टाइन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए ।
अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टाइनमा चार हजार ९०३ रहेका उनले बताए ।
त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन शैया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् ।
प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन ।
यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टाइन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ ।
निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।
कोरोनाबाट थप एक भूपू गोरखाको मृत्यु
कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलवार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए।हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ ।
कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जालबाट यसअघि सेयर गरेकोमहत्वपूर्ण जानकारी यस्तो छ ।
कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु ।
.
– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन . पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन . कोरोना श्वासप्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्युF गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ . तर सबैलाई सर्दैन . नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो।
– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन । कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे . झिंगाको टोकाइबाट सर्दैन ।
– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ . कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ ।
– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ ।
– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ । त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पूनM प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ।
– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन . कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ। यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ ।अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन ।
– कोरोना भाइरस हावाबाट सर्दैन। ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ | हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्युF गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ ।
– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ . यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ । साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ . त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ।
– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान – पंखा_ वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ . अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ | तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन ।
– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन । धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ। टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ . जसले थप तनाब उत्पन्न हुन्छ।
– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ । त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ।
– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ । कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो । १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन। एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन ।कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ । त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ ।
– बालबालिका जोखिम बर्गमा पर्दैनन्त। र उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन।
– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन । हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ । त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया