सिन्धुलीमा पहिलोपल्ट देखियो कोरोना, कुन- कुन जिल्लामा थपिए संक्रमित ?

काठमाडौं – नेपालमा आज २७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु १७ देखि ४२ वर्ष उमेर समुहका रहेका छन् । जसमध्ये २४ पुरुष र ३ महिला रहेका छन् । यो सँगै नेपालका कुल संक्रमितको संख्या ४०२ पुगेको छ । हिजो एकैदिन ८० जनामा संक्रमण देखिएको थियो ।

सिन्धुलीमा पहिलोपटक संक्रमण पुष्टि भएको छ ।

त्यहाँ १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हिजो सोमबार पटक पटक गरी थपिएका संक्रमित थप ४ जिल्लाका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजोमात्रै सुनसरी, खोटाङ, दैलेख र गुल्मी जिल्लामा संक्रमण देखिएको थियो । परीक्षणको दायरा बढाएसँगै नेपालमा कोरोना संक्रमित धमाधम थपिइरहेका छन् ।

आज भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा यस महामारीबाट बच्न सावधानीस्वरुप लकडाउन नीति लिईएको आज ५७ औँ दिन पुगेको छ भने आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याइएको छ ।

नेपालमा सातै प्रदेशमा यो महामारी फैलिसकेको छ ।

हालसम्म ३४० पुरुष र ६२ जना महिला संक्रमित रहेका छन् । आजसम्मको विवरण हेर्दा नेपालमा २० देखि ५० वर्ष उमेर समुह धेरै प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?