बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।
उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्यु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए।
कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।
एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ ।
पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ ।
यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ ।
भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
उनले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्न गराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरे।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।
गत बुधवार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् ।
पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।
नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन् ।
क्वारेन्टाइन भरिभराउ
बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् ।
भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो ।
भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारेन्टाइनमा रहेका छन् ।
नरैनापुरमा शुक्रवार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ ।
भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिकामा निर्माण भएका पाँच क्वारेन्टाइनमा १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टिन छन् । खजुरामा २४ र बैजनाथमा ३० नेपाली क्वारेन्टाइनमा रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९, नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिनमा २३ र नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा ७४ जना बसिरहेको उनको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भारतबाट घर फर्किने नेपाली बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थापनमा समस्या हुँदै गएको बताए।
उनले अब प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरे क्वारेन्टाइन सञ्चालन गर्न कठिन हुने गुनासो पनि गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया