‘मागेको चामलले कहिलेसम्म बल्ला जाहिरको चुलो ?’

काठमाडौं । “हिजो त हामी कसैले चामल, कसैले दाल र कसैले नुन दियौँ र सबै परिवारले खान पाए”, छिमेकीहरु भन्छन्, “सधैँ दिन हामीसँग नि के छ र ?” मनोहरास्थित सुकुम्बासी बस्तीका जाहिर भाटको नौ जनाको परिवार बिहीवार राति भोकै सुत्यो । यो कुरा घरसँगैकी छिमेकी आमाले थाहा पाइन् ।

उनीबाट परिवार हुँदै टोलभरि हल्ला फैलियो र सबैले सक्ने खाद्यान्न दिए । शुक्रवार बिहान दिएको खानेकुराले उनीहरुले त्यो दिन र शनिवार दुई छाक पेटभरि खाए । अझै दुई–तीन दिनलाई पुग्ने दाल र चामल छ । त्यो सकिएपछि भने के गर्ने ? उनीसँग त्यसको जवाफ छैन ।

बजारमा अहिले ग्यास अभाव नभएको जाहिरले सुन्दै आएका छन्। उनीसँग भएको एउटा सिलिण्डर रित्तिएको पनि एक साता भयो । तर पैसा नहुँदा उनले किन्न सकेका छैनन् ।

दैनिक चौरमा गएर भेटिएका कागज, दाउराका टुक्रा बटुलेर ल्याउने गरेको उनले बताए। उनले भने, “बाल्ने कुराभन्दा पहिले खानेकुरा नि चाहियो ।”

मध्यपुरठिमी नगरपालिकाले बाँडेको राहत उनले पनि पाएका थिए । गत चैत २५ गते वडा कार्यालयले राहत वितरण गर्दा १० किलो चामल दिएको थियो ।

सात जनाको परिवारमा त्यो चामल चार–पाँच दिनमै सकियो । उनले फेरि पनि राहतका लागि वडामा सम्पर्क गरेका छन् । तीन–चार दिनदेखि भोलि आउँछ भन्ने जवाफ पाइरहेको उनले बताए। उनले भने, “आउँछ त भन्नुभएको छ तर कहिले पाइन्छ भन्ने थाहा छैन ।”

उसो त जाहिरको हातमुख जोड्ने समस्या लकडाउनले निम्त्याएको होइन । सात सन्तानका बुबा उनी बस्तीमै रहेको सानो छाप्रोमा बस्दै आएका छन् । पुख्र्यौली घर सर्लाही भए पनि अहिले त्यहाँ उनको केही छैन । यही रहेको घरमा एउटै कोठामा नौ जनाको परिवारले वर्षाैंदेखि गुजारा गर्दै आएको छ ।

त्यही एउटा सानो सटरमा उनको लुगा सिउने मेसिन छ । त्यो मेसिन नै उनको हातमुख जोड्ने आधार हो । पहिले पनि पुगनपुग गर्दै उनले निर्वाह गर्दै आएका थिए। उनले भने, “अहिले न त साथमा पैसा छ न त बाँकी खानेकुरा नै ।”

वर्षौंदेखि लुगा सिलाउने काम गर्दै आएका उनले लकडाउनयता काम नै नआएको बताए। कामको अर्डर भए घरमै बसेर गर्न सकिने भए पनि अहिले बजार बन्द हुँदा कसैले कपडा किन्न पाएका छैनन् र उनले सिउने काम पाएका छैनन् । उनका सात जना सन्तान कहिले के खाने त कहिले के खाने भन्दै बुबाआमालाई सताउँछन् । उनीहरु भने उनीहरुलाई गाली गर्ने वा फकाउने गर्छन् । छिमेकीले दिएको खानेकुरा पु-याएरै खानुपर्ने बाध्यता छ ।

लकडाउन अवधि थपिरहँदा उनलाई भने हातमुख जोड्ने कसरी भन्ने नै चिन्ता छ । अझै लम्बिरहे काम पनि नहुने र खान अझै गाह्रो हुने उनले बताए। उनले भने, “कहिले काम गरेर दुई पैसा कमाउनु भन्ने चिन्ता छ ।”

जाहिरकी छिमेकी पम्फा तामाङले बस्तीमा धेरै व्यक्ति दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने बताइन् । लकडाउनका कारण काम गर्न नपाउँदा धेरैको घरमा अन्न र पैसा सकिँदै छ ।

वडा कार्यालयले यहाँका अधिकांशलाई राहत दिएको छ । कतिपयलाई राहतको खाद्यान्न र घरमा बचेको खाद्यान्नले समस्या नभए पनि ठूलो परिवार भएकालाई भने निर्वाह गर्न कठिन छ । जाहिरको जस्तो एक जनाले कमाएर सिङ्गो परिवार पाल्नुपर्नेलाई गाह्रो भएको उनले बताइन्।

परिवारका दुई–तीन र १०–१२ जना हुनेलाई राहत बराबर छ । उनले भनिन्, “ठूलो परिवार हुनेलाई त १० किलो चामल कति दिनलाई पुग्छ र ?” । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?