काठमाडौं । कोरोना भाइरास (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनिरहेको छ । सम्भावित सङ्क्रमण नियन्त्रणका लागि सबै देशले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । चीनको वुहानबाट सुरु भएको सङ्क्रमण विश्वव्यापी बनेसँगै नेपालमा पनि सतर्कता बढाइएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले बुधबार सम्पूर्ण पठनपाठन स्थगितदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगितको निर्णयसमेत गरिसकेको छ ।
समितिले २५ जनाभन्दा बढी भेला हुन नहुने पनि निर्णय गरेको छ । सरकारले सतर्कता अघि बढाइरहेका बेला सङ्घीय संसद्को चालू अधिवेशन लामो समय अघि नबढाउने निर्णयमा संसद्का पदाधिकारी देखिएका छन् । यद्यपि अधिवेशन अन्त्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने हुँदा कुनै निर्णय भइसकेको छैन ।
बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी भइरहेको छ । चैत ७ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै, चैत ६ गते राष्ट्रिय सभा पनि बस्दैछ । चैत ७ गते पनि बैठक राख्ने तयारी छ । चैत ७ गतेपछि भने बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी गरिएको छ ।
संसद्सँगै अदालत पनि केही दिन बन्दको तयारी थालिएको छ । बन्दीका मुद्दा र अत्यावश्यकबाहेक अन्य नियमित मुद्दाको पेसी स्थगितको तयारी सर्वोच्च प्रशासनले गरेको हो । कानुन व्यावसायीको छाता संगठन नेपनल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले अत्यावश्यक बाहेक अरु सेवा बन्द गर्न सर्वोच्च प्रशासनको ध्यानकर्षण गराईसकेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया