साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

काठमाडौं । साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

एनफिल्डमा बुधवार राति भएको अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरको पराजयसँगै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुल अतिरिक्त समयमा स्पेनिस क्लबसँग स्तब्ध बन्यो। खेलमा शुरुवाती अग्रता लिएको लिभरपुलले त्यसको बचाउ गर्न नसक्दा हार्न बाध्य बनेको हो ।

खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाएका थिए ।

तर, ९७ औँ मिनेटमा एट्लेटिको तर्फबाट मार्कोस लोरेन्टले गोल गर्दै खेल २-१ मा ल्याएका थिए । १०५ औँ मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीको स्थितमा पुर्याएका थिए ।

त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाएका हुन् ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ ।

यस अगाडि घरेलु मैदानमा भएको पहिलो लिगमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?