महिला टी-ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टमा

काठमाडौं । सातौँ संस्करणको महिला टी-ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले हात पारेको छ । आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

मेलबर्न स्तिथ एमसीजीमा १ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अल आउट भयो । भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन् ।

यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन् ।

यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन् ।

यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् ।

कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् । भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १-१ विकेट लिए ।

यससंगै अष्ट्रेलियाले महिला टी ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ । महिला टी ट्वान्टी विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्र अष्ट्रेलिया हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?