काठमाडौं । छिमेकी देश भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊजा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई शुक्रबार भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाएका हुन् । त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गर्नुभयो । विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गरे । अरुण तेश्रोतको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।
यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।
मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो । जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो । सोही आधारमा नेपालले बंगलादेशँग विद्युत व्यापारको सम्झौता गरेको छ ।
यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोश्रो अन्तरदेशी प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ । भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे ।
मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा उनले धन्यबाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया