विश्वकपको एसिया छनोट खेल स्थगित गर्न फिफाद्वारा प्रस्ताव

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले विश्वकपको एसिया छनोट र एसियन कपको छनोट खेल स्थगित गर्न प्रस्ताव गरेको छ ।

कोरोना भाईरस विश्वमा महामरीको रुपमा फैलिए पछि फिफा र एएफसीले एसिया राष्ट्रका सदस्यहरुलाई खेल स्थगित गर्न प्रस्ताव गरेको हो ।फिफा र एएफसीले छनोट खेलको नयाँ मिति सम्बन्धित देशका संघलाई पछि उपलब्ध गराउने बताएको छ ।

फिफा र एएफसीको प्रस्तावसँगै विश्वकप र एसियन छनोट अन्तर्गत नेपाल र अष्ट्रेलिया तथा नेपाल र चाईनिज ताईपेबीचको खेल स्थगित हुने भएको छ ।

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालसँग खेल्ने तालिका रहेको छ । मार्च ३१ मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय छ ।

त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लेग खेल्दैछ । विश्वकप छनोट अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक ३१ सदस्यीय टिम घोषणा गरिसकेको छ ।

घोषित टिमका अधिकांश सदस्य अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?