काठमाडौं । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ ।
उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।
दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव हुनु भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा शान्ति सम्झौताहरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनकै कार्यकालमा इरान र इराकबीच झण्डै आठ वर्षको शसस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरुप दुबै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्व महासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए ।
“उहाँ परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,” गुटेरेसले भनेका छन् ।
पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहेका र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन् ।
क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासहरुमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए ।
राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो ।
सन् १९८१ मा उनी संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त भएका थिए। दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।
सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाब समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो ।
उनी महासचिव रहेकै दिनहरुमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।
सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दी क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीको रुपमा काम गरेका थिए । उनकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित भउका थिए ।
राष्ट्रपति टोलेडोले उनलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गरेका थिए ।
क्वेलरको यही शुक्रबार दाहसंस्कार गरिने बताइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया