प्रचण्ड किन पुगे सुटुक्क सिन्धुपाल्चोक

काठमाडौं । यतिबेला सभामुख पद हत्याउन पूर्व एमाले र पूर्व माओवादीबीच निकै ठूलो रस्साकस्सी चलिरहेको छ । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाबाटै यो पदमा आफ्नो मान्छे पार्न निकै लामो समयदेखि कसरत चलिरहेको छ ।

यसैबीच सभामुखमा लबिङ गरिरहेका सिन्धुपाल्चोकका सांसद एवं पूर्वमन्त्री अग्नि सापकोटालाई साथमा लिएर नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्ड उनकै जिल्लामा पुग्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डले सोमबारमात्र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसलगतै उनी सापकोटाको आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ स्थित कदमवास गएका थिए ।

जानकारी अनुसार उनी सुरक्षादस्तासहित वलराम गिरीको घरमा बास बसेका थिए । हिजो साँझ सिन्धुपाल्चोकको कदमबास पुगेका उनलाई बास बस्न रिसोर्टमा भनिएपनि उनी कार्यकर्ताको घरमा बास बसेर मासु,ढिडो, साग खाएका थिए ।

उनले आज बिहान स्थानीय नेताहरुसँग त्यहाँ भइरहेका काम र समस्याबारेमा केहिबेर गफगाफ गरेका थिए । प्रचण्ड बिहानै काठमाडौं आइसकेका छन्। प्रचण्ड यसअघि रिफ्रेस हुनकै लागि भनेर सिन्धुपाल्चोकको सुकुटेमा बेलाबेला पुग्ने गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?