श्रममन्त्रीको तीन महिने कार्ययोजना : ६० हजार बेरोजगारलाई रोजगारी दिनेदेखि ओमनसँग श्रम समझदारी गर्नेसम्म

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिका हकवालाले स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था गरिने पनि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

त्यस्तै ओमनसँग द्विपक्षीय श्रम समझदारी गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?