ओलीलाई नयाँ जीवन दिने अन्जान भन्छिन्-त्यसले चाहिँ किन काम नगरेको होला ?

काठमाडौँ – शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले कान्तिपुरसित भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’

त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन !’
अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् ।

पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो ।

‘दिने नै हो भने एकपटक श्रीमान् र बाआमालाई सोध,’ ओलीले मिर्गौला प्रत्यारोपणअघि फेरि उनलाई भने ।

‘किड्नी मेरो हो, मैले किन अरूलाई सोधिरहने ?’ सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले अन्जानले जवाफ दिइन्, ‘कसैलाई सोधिरहनै पर्दैन, म तयार छु ।’

उनले नसोधे पनि श्रीमान् तारा ओली र पिता ध्रुव घिमिरेले अन्जानलाई दानका लागि अनुमति दिए । ‘उहाँको ब्लड ग्रुप ओ नेगेटिभ हो र मेरोचाहिँ ओ पोजेटिभ,’ अन्जानले सुनाइन्, ‘ओ नेगेटिभलाई जसको पायो उसको लिन नमिल्ने तर पोजेटिभले चाहिँ सबैलाई दिन मिल्ने रहेछ, त्यसैले मैले केपी दाइलाई मद्दत गर्न पाएँ ।’

वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रारम्भिक परीक्षण गरेपछि ०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन् । अन्जानको स्वास्थ्य परीक्षण सुरु भयो । प्रत्येक स्वास्थ्य जाँचको नतिजा सकारात्मक आयो ।

‘तिमी सानै छ्यौ र बच्चा पनि सानै रहेछ,’ अपोलोका एनेस्थेटिस्ट डा.अनिलकुमार शर्माले शल्यक्रियाअघि उनलाई सोधे पनि, ‘के दिने नै हो र ?’

अन्जानले मानौं प्रतिज्ञा गरेकी थिइन् । भनिन्, ‘तपाईंले त मलाई हौसला पो दिने हो त, किन डर देखाउनु हुन्छ डाक्टर साहेब ?’ डाक्टरहरू उनका कुराले चकित भएका थिए, अन्जान अहिले पनि सम्झिन्छिन् । अन्जानले कसैगरी ज्यानै गएछ भने पनि त्यसको दोष तपाईंहरूलाई लाग्ने छैन भनेर चिकित्सक टोलीलाई आफैंले भरोसासमेत दिइन् । अप्रेसन थिएटरमा लगिएपछि एनेस्थेसियाले उनका परेलीहरू बन्द भए । केही घण्टापछि होसबाट ब्युँझँदा डाक्टरले उनको देब्रे पिठ्युँतिर चिरेर मिर्गौला निकालिसकेका थिए ।

कान्तिपुरलाई उनी भन्छिन्, ‘मसँग भएको किड्नीले काम गरिरहेको छ, उहाँलाई दिएको पनि त मेरै किड्नी थियो, त्यसले चाहिँ किन काम नगरेको होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?