काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आज शनिबार नेपालको राजकिय भ्रमणका लागि नेपाल आउनुभएको छ । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई स्वागत गर्न समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थलमा हुनुहुन्छ ।
उहाँ सवार एअर चाईनाको बोईङ ७४७ /८९ (B ७४८) विमान भारतको चेन्नइबाट काठमाडौंका लागि १ः४५ बजे उडेको थियो । उहाँको भ्रमणका कारण आज र भोली दुई दिन काठमाडौँको केहि स्थानको सवारी व्यवस्था प्रभावित हुने भएको छ। प्रहरीले राष्ट्रपति सवार हुनुभन्दा केही घण्टा अगाडिदेखि नै सडक बन्द गरिने यसअघि नै बताइसकेको छ ।
यी दुई दिन राष्ट्रपति सीको भ्रमणको समय भएकोले राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ। बरु यसको विकल्पका रुपमा सहायक सडक प्रयोग गर्न अनुरोध गरेको छ । मालबहाक सवारी साधन दुई दिन रिङरोड भित्र प्रवेश गर्न रोक लगाएको छ ।
के छ कार्यक्रम ?
चिनियाँ राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुग्नुभएको छ । विमानस्थलबाट कोटेश्वर, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर हुँदै ताहाचलस्थित सोल्टी होटलमा पुग्ने कार्यक्रम छ ।
बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम छ ।
७ ३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने बताइएको छ । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा स्टेट डिनर आयोजना गर्नुहुने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले शनिवार नै भेट गर्ने बताइएको छ ।
भोलिको कार्यक्रम यस्ता
आइतवार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुहुने छ । त्यसपछि करिब ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा केही सन्धि सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
के के मा हुँदैछ हस्ताक्षर ?
मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत रेलवे, सडक, फाइबर, विद्युत ट्रान्समिसन पर्छन्। जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्नेछ ।
भूकम्पपछिको पुनर्निमाण, लुम्बिनीको विकास, अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौं रेलवे निर्माण, क्रस बोर्डर विद्युत् लाइन, सीमा व्यवस्थापन लगायतका विषयमा पनि दुई राष्ट्रबीच छलफल हुने अपेक्षा गरिएको छ।
भोली दिउँसो १ बजे चिनियाँ राष्ट्रपति सी चीन प्रस्थान गर्ने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया