सोनबर्सा, १२ मङ्सिर- ‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो । उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके । फेरि बनाउन वर्षौं झुलाइसके । भारततिर नआएर के गर्ने ? यता फराकिलो पक्की सडक भएकाले पैदलयात्रा गर्न सहज छ ।’उनको कुरा सुनिरहेका सोनबर्साका भारतीय नागरिक रामविनय प्रसादले समर्थन जनाउँदै भने, ‘दस वर्षअघिसम्म पिच सडक हेर्न हामी नेपालतर्फ जान्थ्यौं । अहिले ठीक उल्टो भयो । नेपालका सडक भत्केर खत्तम भइसके । यता एकदम राम्रो र फराकिला पक्की सडक छन् । नेपाली दाजुभाइ मर्निङ वाक गर्न आएको देख्दा आफ्नो विगत याद आउँछ ।’७ लाख ७० हजार जनसंख्या, प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र रहेको सर्लाही जिल्लाभरि करिब ९ सय किलोमिटर सडक छ । त्यसमध्ये पूर्व–पश्चिम लोकमार्गमा पर्ने ३३ किमि र केही नगरपालिकामा जोडेर बढीमा २० किमि कालोपत्रे छ । बाँकी सबै धुलाम्यै सदरमुकाम मलंगवा सम्भवत: देशकै अभागी सहरमध्ये पर्छ, जसमा सडक त छ, तर पिचको नामनिसानै छैन । हुलाकी राजमार्ग नबन्दा र प्रमुख लोकमार्गसँग कालोपत्रे मार्गले नजोडिँदा पछाडि परेका मधेसका केही सदरमुकाममध्ये पर्छ यो । यातायातको कठिनाइले जिल्लाको यो केन्द्र गाउँजस्तो बनेको छ । चहलपहल कम छ, आर्थिक गतिविधि शून्य छ । जीवनस्तर पछाडि पर्दै गएको छ, कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया