चीनबाट सामान बोकेर आएका ५०० भन्दा बढी कन्टेनर बाढीमा बेपत्ता

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण रसुवागढी नाका अनिश्चितकालका लागि बन्द भएको छ ।

बाढीले चीनबाट नेपालतर्फ सामान ल्याउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । ती कन्टेनरमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्स र विद्युतीय सवारीसाधन (ईभी) लगायतका सामान रहेको संघका महासचिव रामचन्द्र पराजुलीले बताए ।

उनका अनुसार बाढीबाट भएको व्यापारिक क्षति अर्बौं रुपैयाँ बराबर हुन सक्ने अनुमान छ । बाढीका कारण सीमाक्षेत्रको अवस्था निकै जटिल बनेको उनले बताए ।

रसुवागढी चीनबाट नेपालमा सामान भित्रिने प्रमुख नाका हो । नाका लामो समय बन्द रहे दशैं–तिहारका लागि आवश्यक सामानको आपूर्तिमा समस्या आउन सक्ने संघले जनाएको छ । आपूर्ति प्रभावित भए विभिन्न वस्तुको मूल्यसमेत बढ्न सक्ने संघको भनाइ छ ।

संघले बाढीबाट भएको क्षतिबारे गृह मन्त्रालयका अधिकारीसँग छलफल गरेको जनाएको छ । मन्त्रालयले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?